काठमाडौं । लगातारको वर्षासँगै गएको पहिरोका कारण जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद मार्ग र भेरी करिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार जाजरकोटको नलगाढ नगरपालिका–८ मलुवास्थित जाजरकोट–डोल्पा सडकखण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको हो।
यस्तै, असार २२ गते रोल्पाको माडी गाउँपालिका–६ हार्निङ क्षेत्रमा पहिरो जाँदा रुकुम–घोराही सहिद मार्ग पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, असार १७ गते रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा आएको बाढीका कारण अवरुद्ध भएको भेरी करिडोर सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन।
प्रहरीका अनुसार वर्षाका कारण अवरुद्ध भएका केही मुख्य राजमार्ग भने आंशिक वा एकतर्फी रूपमा सञ्चालनमा आएका छन् भने बाँकी सडक खुलाउने प्रयास जारी छ।
नेपाल प्रहरीले पूर्ण रूपमा बन्द रहेका सडक सञ्चालनमा नआउँदासम्म अनावश्यक यात्रा नगर्न तथा आंशिक रूपमा सञ्चालन भएका सडकमा पनि उच्च सतर्कतासाथ मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।