काठमाडौं । देशभर मनसुन सक्रिय बन्दै गएसँगै आजदेखि विभिन्न प्रदेशमा वर्षाको सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालतर्फ सामान्यभन्दा दक्षिण तथा पश्चिमतर्फ औसत स्थान आसपास रहेकाले यसको प्रभाव देशभर देखिएको हो।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो बदली रहेको छ भने मधेस र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली छ।
महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेस, कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा पनि चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। मधेस तथा लुम्बिनीको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले कमजोर संरचना, विद्युत् लाइन र खेतीपातीमा असर पर्न सक्ने चेतावनी पनि दिइएको छ।
राति पनि मनसुनको प्रभाव कायम रहनेछ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी र तराईका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि चट्याङसहित वर्षा हुने अनुमान छ भने हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।