बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण विभागको पत्र

मंगलबार, असार २३ २०८३

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई एक साताभित्र बयानका लागि उपस्थित हुन निर्देशन दिएको छ।

विभागका कर्मचारीले सोमबार काठमाडौंको बुढानीलकण्ठस्थित जयवीर देउवाको ठेगानामा पुगेर उपस्थितिका लागि पत्र टाँस गरेका हुन्। पत्रमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेकाले तोकिएको अवधिभित्र विभागमा उपस्थित भई बयान दिन भनिएको उल्लेख छ।

यसअघि विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाका नाममा पनि अनुसन्धानका लागि पुर्जी जारी गरिसकेको थियो।

स्रोतका अनुसार जयवीर देउवामाथि नेपाल टेलिकमको बिलिङ प्रणालीसम्बन्धी ठेक्का तथा राहदानी (पासपोर्ट) छपाइसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत निकायमा उजुरी परेको छ।

उक्त उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको र सोही क्रममा जयवीर देउवालाई बयानका लागि बोलाइएको स्रोतले जनाएको छ।