काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा दिनभर आंशिकदेखि सामान्य बदली रही वर्षा हुने अनुमान गरिएको छ।
विभागले सार्वजनिक गरेको सहरगत मौसम पूर्वानुमानअनुसार काठमाडौं, पोखरा, ओखलढुङ्गा, ताप्लेजुङ, जिरी र डडेलधुरामा दिन तथा राति दुवै समयमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
यस्तै विराटनगर, धरान, धनकुटा, भैरहवा, घोराही, वीरेन्द्रनगर, जुम्ला, दीपायल र सिमरामा करिब ४० प्रतिशत वर्षाको सम्भावना रहेको छ भने जनकपुर, नेपालगञ्ज र जोमसोममा हल्का वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ।
काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस र न्यूनतम २० देखि २२ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। पोखरामा अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियस पुग्ने तथा दिन–रात दुवै समयमा करिब ६० प्रतिशत वर्षाको सम्भावना रहेको छ।
पूर्वी तराईका विराटनगर, धरान र जनकपुरमा वर्षाको सम्भावना रहे पनि अधिकतम तापक्रम ३३ देखि ३७ डिग्री सेल्सियससम्म पुग्ने भएकाले गर्मीको प्रभाव पनि कायम रहने विभागको अनुमान छ। पश्चिमका धनगढी, नेपालगञ्ज, भैरहवा र घोराहीमा हल्कादेखि मध्यम वर्षासँगै अधिकतम तापक्रम ३५ देखि ३८ डिग्री सेल्सियससम्म पुग्न सक्ने जनाइएको छ।
हिमाली तथा पहाडी क्षेत्रका जुम्ला, जोमसोम, ताप्लेजुङ, ओखलढुङ्गा र जिरीमा निरन्तर वर्षाका कारण पहिरो र सडक अवरोधको जोखिम बढ्न सक्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
विभागका अनुसार सक्रिय मनसुनी प्रणालीका कारण केही स्थानमा छोटो अवधिमै मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला र खोल्सामा आकस्मिक बहाव, पहाडी क्षेत्रमा पहिरो तथा सहरी क्षेत्रमा डुबानको जोखिम रहन सक्छ।
मौसमविद् सञ्जीव अधिकारीले मेघगर्जन र चट्याङको समयमा खुला स्थान, अग्ला रुख, बिजुलीका पोल तथा नदी किनारमा नबस्न र अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गर्नुभएको छ। साथै, स्थानीय प्रशासन र मौसम विभागबाट जारी हुने अद्यावधिक सूचना नियमित रूपमा पालना गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ।