बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रधानमन्त्री स्वयंले संसद्को रोस्ट्रमबाट स्पष्टिकरण दिनुपर्ने माग

सोमबार, असार २२ २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले प्रधानमन्त्री बालेन्द्र साहले दिएको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको दाबी गर्दै उक्त अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसलाई राष्ट्रघाती अभिव्यक्ति भएको आरोप लगाए। उनले उक्त अभिव्यक्ति सच्याउन प्रधानमन्त्री स्वयंले संसद्को रोस्ट्रमबाट स्पष्टिकरण दिनुपर्ने माग गरे।

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ५६ कार्यान्वयन हुने वा नहुनेबारे प्रश्न उठाउँदै उनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कहिलेसम्म सदनमा फरक मत राखिरहनुपर्ने हो भन्दै सभामुखको ध्यानाकर्षण गराए।

राईले भने, ‘सभामुख महोदय, प्रतिनिधिसभा नियमावली २०८३ को नियम ५६ हामीले कार्यान्वयन गर्ने कि नगर्ने? प्रधानमन्त्रीज्यूले दिनुभएको राष्ट्रघाती अभिव्यक्तिको विषयमा हामीले कहिलेसम्म यो सदनमा फरक मत राखिराख्नुपर्ने हो? एक वर्ष, दुई वर्ष वा पाँच वर्ष? राष्ट्रियताको सवालमा हामी एक इन्च पनि पछि हट्दैनौँ। प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति यही सम्मानित सदनको रोस्ट्रमबाट सच्याउनुपर्छ।’

उनले एमबिबिएस र बिडिएस अध्ययनरत विद्यार्थीहरूले भोगिरहेका समस्याप्रति पनि सरकारको ध्यानाकर्षण गराउँदै ती समस्या तत्काल समाधान गर्न आग्रह गरे।