सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

मन्त्री लम्सालको अभिव्यक्ति पुनः विवादमा : काम नगर्ने मेयर र मन्त्रीलाई कारबाही गर्ने चेतावनी

सोमबार, असार २२ २०८३

तनहुँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनताको कामप्रति उत्तरदायी नहुने जनप्रतिनिधिमाथि कारबाही गरिने चेतावनी दिएका छन्। आइतबार तनहुँको दुलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तासँगको भेटघाटका क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

कार्यक्रममा बोल्दै मन्त्री लम्सालले जनप्रतिनिधिले जनताको सेवा गर्न नसके वा जनतालाई बेवास्ता गरे त्यसबारे जानकारी गराउन आग्रह गर्दै कानुनी कारबाही गरिने बताए।

‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस्, मेयरलाई कारबाही गर्छौं। प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने मन्त्रीलाई पनि थुन्छौं,’ उनले भने।

उनले सरकारले काम गर्नेलाई प्रोत्साहन गर्ने र जनहितविपरीत काम गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे। विकास निर्माणलाई तीव्रता दिन सबै जनप्रतिनिधिले जिम्मेवारीका साथ काम गर्नुपर्नेमा उनले जोड दिए।

मन्त्री लम्सालले तीनै तहका सरकारका जनप्रतिनिधि जनताप्रति जवाफदेही हुनुपर्ने उल्लेख गर्दै नागरिकका गुनासा सम्बन्धित निकायसम्म पुर्‍याउन आग्रह गरे। सुशासन, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहप्रति सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

तनहुँको विकासका लागि करिब ४ अर्ब रुपैयाँको बजेट सीमाभित्र सडक तथा पुलका योजना तयार पार्न पनि उनले स्थानीय नेतृत्वलाई आग्रह गरे। छलफलका क्रममा रास्वपा तनहुँका जिल्ला सभापति विश्व बास्तोलाले जिल्लाका विकास आयोजनाबारे मन्त्रीको ध्यानाकर्षण गराएका थिए।

यसअघि पनि मन्त्री लम्सालले काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति दिएपछि व्यापक आलोचनाको सामना गरेका थिए। पछिल्लो पटक मेयर र प्रदेश मन्त्रीलाई ‘थुन्ने’ चेतावनी दिएको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ र त्यसबारे विभिन्न प्रतिक्रिया आइरहेका छन्।