जनकपुरधाम । सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालय नेतृत्वको सुदृढीकरण तथा स्थानीय सरकार र नीति निर्माण तहबीच प्रभावकारी साझेदारी स्थापित गर्ने उद्देश्यले आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरधाममा सम्पन्न भएको छ।
प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (प्यान) मधेस प्रदेशको आयोजनामा भएको सम्मेलनमा ‘सार्वजनिक शिक्षा रूपान्तरणमा विद्यालय नेतृत्व, स्थानीय सरकार र नीति निर्माणमा साझेदारी’ विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षा विज्ञ तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार शैलेन्द्र झाले विद्यार्थीको सिकाइ उपलब्धि अपेक्षाअनुसार हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै गुणस्तरीय शिक्षासँगै सीप विकासमा पनि विशेष ध्यान दिनुपर्ने बताए। उनले विद्यार्थीलाई मानसिक र शारीरिक रूपमा सक्षम बनाउन शिक्षक, अभिभावक, प्रधानाध्यापक तथा स्थानीय तहबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
त्यसैगरी, प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुदानप्रसाद गौतमले नेपालमा शिक्षा अझै पनि राज्यको प्राथमिकतामा पर्न नसकेको गुनासो गरे। शिक्षा नियमावली निर्माणदेखि विद्यालयका लागि पर्याप्त बजेट व्यवस्थासम्म सरकारलाई दबाब दिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले शिक्षा, स्वास्थ्य र पूर्वाधारजस्ता आधारभूत क्षेत्रको जिम्मेवारी राज्यले प्रभावकारी रूपमा वहन गर्नुपर्नेमा जोड दिए।
एसोसिएसनका मधेस प्रदेश अध्यक्ष सञ्जय झाको अध्यक्षतामा सम्पन्न सम्मेलनमा सार्वजनिक शिक्षाको गुणस्तर सुधार, विद्यालय नेतृत्वको सुदृढीकरण, स्थानीय सरकारसँगको सहकार्य, शिक्षा नीति कार्यान्वयनका चुनौती तथा समाधानका उपायबारे व्यापक छलफल भएको आयोजकले जनाएको छ।