शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

मेक्सिकोलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

सोमबार, असार २२ २०८३

 काठमाडौं । इंग्ल्यान्डले सह–आयोजक मेक्सिकोलाई ३–२ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

रोमाञ्चक बनेको खेलमा इंग्ल्यान्डले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। जुड बेलिङहमले ३६औँ र ३८औँ मिनेटमा लगातार गोल गर्दै टोलीलाई २–० ले अघि बढाए। पहिलो हाफको ४२औँ मिनेटमा युलियन क्विन्योनेसले गोल फर्काउँदै मेक्सिकोलाई २–१ को अवस्थामा पुर्‍याए।

दोस्रो हाफको ५४औँ मिनेटमा जारेल क्वान्साले रातो कार्ड पाएपछि इंग्ल्यान्ड १० खेलाडीमा सीमित भयो। त्यसपछि ६०औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डको अग्रता ३–१ मा पुर्‍याए।

मेक्सिकोले पनि हार मानेन। ६९औँ मिनेटमा राउल जिमिनेजले पेनाल्टीमार्फत गोल गर्दै अन्तर ३–२ मा झारे। त्यसपछि दुवै टोलीले थप गोलका लागि निरन्तर प्रयास गरे पनि स्कोर परिवर्तन हुन सकेन।

यस जितसँगै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको छ। क्वाटरफाइनलमा इंग्ल्यान्डले नर्वेको सामना गर्नेछ। पराजित मेक्सिको भने घरेलु समर्थकमाझ विश्वकप यात्राबाट बाहिरिएको छ।