सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

उत्कृष्ट कार्यसम्पादनका आधारमा तीन डीआईजीसहित १०४ प्रहरी कर्मचारी पुरस्कृत

आइतबार, असार २१ २०८३

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादनको मूल्यांकन गर्दै तीन जना नायव महानिरीक्षक (डीआईजी)सहित १०४ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ।

पुरस्कृत हुने डीआईजीहरूमा कर्णाली प्रदेश प्रहरी कार्यालयका डीआईजी जयराज सापकोटा, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी भूपेन्द्र खत्री तथा डीआईजी विश्वराज अधिकारी रहेका छन्। उनीहरूलाई जनही २५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यस्तै, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा, नवराज अधिकारी, गोविन्द अधिकारी, शान्तिराज कोइराला र वेद बिष्टलाई जनही दुई हजार पाँच सय रुपैयाँ नगदसहित सम्मान गरिएको छ।

यस्तै, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशी, दीपक श्रेष्ठ, शरदकुमार थापा क्षेत्री, कुमोद ढुंगेल, अनन्तराम शर्मा, कमला लामा र सूर्यबहादुर थापालाई पनि जनही दुई हजार चार सय रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ।

प्रहरी प्रधान कार्यालयले विभिन्न तहका प्रहरी कर्मचारीलाई उत्कृष्ट कार्यसम्पादन, जिम्मेवारी निर्वाह र सेवामा देखाएको योगदानका आधारमा पुरस्कार प्रदान गरेको जनाएको छ।