सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही

आइतबार, असार २१ २०८३

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले संविधानले पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरे पनि सञ्चार क्षेत्र अझै विभिन्न चुनौतीबाट मुक्त हुन नसकेको बताएका छन्। उनले राज्यबाट सूचना लुकाउने र सही सूचनालाई गलत सावित गर्ने प्रवृत्ति अझै कायम रहेको दाबी गरे ।

आइतबार नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता स् सञ्चार कानुन र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै विरहीले जुनसुकै राजनीतिक परिस्थितिमा पनि नेपाली प्रेस जगतले आफ्नो दायित्व निर्वाह गर्न ठूलो मूल्य चुकाउँदै आएको बताए ।

संविधानले प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिएको र परिवर्तनका आन्दोलनमा सञ्चार क्षेत्रले अग्रणी भूमिका खेले पनि पत्रकारहरू अझै आधारभूत आवश्यकतासमेत पूरा गर्न नसक्ने अवस्थामा रहनु दुःखद् भएको उनले बताए।

राज्यमा सूचना लुकाउने तथा तथ्यमा आधारित समाचारलाई समेत गलत सावित गर्ने प्रयास भइरहेका कारण पत्रकार, पाठक, श्रोता र दर्शकमाझ समेत त्यसको प्रभाव परेको उनको भनाइ थियो।

पूर्वअध्यक्ष विरहीले प्रमाणसहित प्रकाशित समाचारसमेत पछि सञ्चार संस्थाकै सञ्चालकबाट खण्डन गराउँदै माफी माग्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै यस्तो घटना नेपाली पत्रकारितामा यसअघि विरलै देखिएको बताए। उनले यस्तो प्रवृत्तिले स्वतन्त्र र जिम्मेवार पत्रकारितामाथि गम्भीर चुनौती थपिएको धारणा राखे।