काठमाडौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान सरकारले सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताप्रति सकारात्मक वातावरण बनाउन नसकेको आरोप लगाएकी छन्। उनले सरकार गठन भएको १०० दिनको अवधिमा अभिव्यक्ति स्वतन्त्रता झन् संकुचित भएको महसुस गरिएको बताइन् ।
आइतबार ललितपुरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष शर्माले संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरे पनि व्यवहारमा त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको बताइन् ।
उनले पत्रकारहरूको सूचनामा पहुँच सीमित हुँदै गएको दाबी गर्दै अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेटसम्म पनि पत्रकारहरू सहज रूपमा पुग्न नसक्ने अवस्था रहेको बताइन्। संसदीय समितिहरूमा समेत पत्रकारहरूको सहज प्रवेश नहुँदा सूचना संकलन प्रभावित भएको उनको भनाइ थियो।
सरकारले सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा अपेक्षित सुधार गर्न नसकेको उल्लेख गर्दै अध्यक्ष शर्माले पछिल्लो १०० दिनमा मिडिया क्षेत्रका लागि उल्लेखनीय सकारात्मक परिवर्तन नदेखिएको बताइन्। पत्रकारहरूको सूचना पहुँच सीमित भएकाले सरकारले गरेका कतिपय निर्णयबारे समेत जानकारी पाउन कठिन भएको उनले उल्लेख गरिन् ।
अध्यक्ष शर्माले राजनीतिक र आर्थिक दुवै माध्यमबाट प्रेसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको आशंका व्यक्त गरिन्। विगतका सरकारहरूमा पनि यस्ता प्रवृत्ति देखिएको स्मरण गराउँदै उनले वर्तमान सरकारले पनि सञ्चारमाध्यमप्रति उदार दृष्टिकोण अपनाउन नसकेको टिप्पणी गरिन् ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताअन्तर्गत सूचना माग्ने, सूचना प्राप्त गर्ने, तथ्यको परीक्षण गर्ने र यकिन गरेर मात्र समाचार प्रकाशन तथा प्रसारण गर्ने अधिकार सुरक्षित रहेको उल्लेख गर्दै उहाँले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको व्यवहारिक कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन् ।