काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाका दुई समितिको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार अर्थ समिति र महिला तथा सामाजिक मामिला समितिले आ–आफ्ना कार्यसूचीअनुसार बैठक आयोजना गरेका छन्।
अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका बारेमा विज्ञ तथा सरोकारवालासँग छलफल गरिने कार्यसूची रहेको छ।
त्यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा समितिको कार्यविधि तथा आचारसंहितासम्बन्धी मस्यौदा उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गरिनेछ।
यसका साथै समितिले हालै सम्पन्न गरेको स्थलगत अनुगमन भ्रमणको प्रतिवेदनमाथि पनि सदस्यहरूबीच छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।