काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अपेक्षित परिवर्तन स्वतः नआउने भन्दै त्यसका लागि सचेत, संगठित र योजनाबद्ध प्रयास आवश्यक पर्ने बताएका छन्। उनले सूचना प्रविधिको विस्तारसँगै सामाजिक सञ्जालमार्फत भ्रम र कुप्रचार फैलाउने प्रवृत्ति बढेकाले त्यसको सामना गर्न पार्टीले पनि आफ्नो कार्यशैली समयअनुकूल बनाउनुपर्ने धारणा राखे।
शनिबार ललितपुरमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियानको उद्घाटन गर्दै अध्यक्ष ओलीले अहिलेको युग सूचना प्रविधि र प्रचारको भएको उल्लेख गरे। उनले सामाजिक सञ्जालमा योजनाबद्ध रूपमा गलत सूचना प्रवाह गरी ‘अल्गोरिदम’को प्रयोगमार्फत जनमत प्रभावित गर्ने प्रयास भइरहेको दाबी गरे ।
एमाले नेतृत्वमा रहँदा भएका विकासका काम जनतासम्म प्रभावकारी रूपमा पुर्याउन नसकिएको स्वीकार गर्दै उनले कामभन्दा प्रचारमा सक्रिय रहेकाहरूले गलत भाष्य निर्माण गर्न सफल भएको बताए ।
वर्तमान सरकारतर्फ संकेत गर्दै अध्यक्ष ओलीले सरकारभित्रै अस्थिरताका आधारहरू रहेको दाबी गरे। सरकार आफ्नै कमजोरीका कारण ढल्न सक्ने भए पनि त्यसको प्रतीक्षा गरेर बस्न नहुने उनको भनाइ थियो। देशको विकास र लोकतन्त्रको सुदृढीकरणका लागि परिवर्तन सचेत प्रयासबाटै सम्भव हुने उनले स्पष्ट पारे ।
“हामी कठिनाइमा छौँ। यतिबेला कठिनाइमा छौँ। कठिनाइ भनेको जीवनमा आइपर्ने चिज हो। निर्जीव तत्वलाई कहिल्यै कठिनाइ पर्दैन। हाम्रो पार्टीलाई कठिनाइ आएको छ भनेको हामी जीवित छौँ। हामीले धक्का खाएका छौँ। हामी पछारिएका हौँला, तर हामी जीवित छौँ। हामी उठ्छौँ। हामी प्रतिवाद गर्छौँ। हामी प्रतिरोध पनि गर्छौँ।” उनले भने ।
अध्यक्ष ओलीले चिनियाँ नेता माओत्सेतुङको भनाइ उद्धृत गर्दै सङ्घर्षमा साहस र आत्मविश्वास आवश्यक पर्ने उल्लेख गरे। उनले भने“जसले हिम्मत गर्छ, आँट गर्छ, त्यसले मात्रै बादशाहलाई घोडाबाट झार्न सक्छ। कायरहरूले त्यसो गर्न सक्दैनन्। सजिलो अवस्थामा त सबैले हिम्मत देखाउँछन्, तर अप्ठ्यारो परिस्थितिमा मात्रै वास्तविक साहसको परीक्षा हुन्छ।”
उनले क्रान्ति भनेको गुणात्मक परिवर्तनको प्रक्रिया भएको उल्लेख गर्दै पार्टी जागरण अभियानले संगठनलाई सुदृढ बनाउनुका साथै जनतामाझ एमालेका नीति र कामलाई प्रभावकारी रूपमा पुर्याउने विश्वास व्यक्त गरे।
सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न असफल : पोखरेल
कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यप्रतिबद्धता कार्यान्वयन गर्न नसकेको आरोप लगाए ।
सरकारले लोकप्रियतावाद र सामाजिक सञ्जालबाट प्राप्त समर्थनलाई वास्तविक उपलब्धिमा रूपान्तरण गर्न नसकेको उनको भनाइ थियो। सुशासन, विधिको शासन र संविधानको प्रभावकारी कार्यान्वयनमा सरकार कमजोर देखिएको दाबी गर्दै उहाँले वर्तमान परिस्थितिले लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठाएको बताए ।
उनले भने,‘यतिबेला हामी इतिहासकै एउटा जटिल मोडमा उभिएका छौँ । भदौ २३ र २४ गतेका विभत्सकारी घटनाहरू, त्यसको जगमा सम्पन्न भएको २०८२ सालको आम निर्वाचन र उक्त निर्वाचनमार्फत जनताको लोकप्रिय जनादेश प्राप्त गरेर गठन भएको सरकारले १०० दिन पूरा गरेको सन्दर्भमा आज हामी यहाँ उपस्थित भएका छौँ । स्वाभाविक रूपमा हाम्रो पार्टीले भन्दै आएको थियो । पपुलिजमले जनताको भावनाको दोहन गर्न त सक्छ तर जनताका अपेक्षा, राष्ट्रिय राजनीतिका चुनौतीहरूको सम्बोधन र समाधान गर्न तथा मुलुकलाई सही दिशा प्रदान गर्न सफल हुन सक्दैन । पपुलिजम र सामाजिक सञ्जालमार्फत सिर्जना गरिएको एल्गोरिदमको माध्यमबाट आर्जन गरिएको समर्थन क्षणिक समयको पाहुना मात्र हुनसक्छ । यदि त्यसले सुशासन र विधिको शासनलाई आत्मसात गर्न सकेन भने, त्यो समर्थन छोटो समयको पाहुना मात्र हुन्छ भन्नेकुरा हामीले निरन्तर भन्दै आएका थियौँ । आज सरकारका काम, कारबाही र गतिविधिहरू तथा विशेष गरी सरकारले सार्वजनिक गरेको १०० बुँदे प्रतिवद्धतालाई आधार मानेर विश्लेषण गर्ने हो भने, सरकार आफ्ना प्रतिवद्धताहरू पूरा गर्न पूर्णतः असफल भएको छ । मुलुक विधिको शासनबाट विचलित भएको छ, र यतिबेला संविधान तथा लोकतन्त्रको भविष्यमाथि नै प्रश्नचिह्न खडा भएको छ । पपुलिजमको आडमा मुलुकलाई स्वेच्छाचारी तथा अधिनायकवादी शासनतर्फ लैजाने प्रयास भइरहेको यस अवस्थामा हामी जनताका बीचमा जाने योजना र उद्देश्यका साथ ‘मिसन पार्टी जागरण’ लिएर तपाईंहरूका बीचमा आएका छौँ ।’
उनले सरकारका गतिविधिबारे जनतालाई सुसूचित गर्न र एमालेको धारणा गाउँ–गाउँसम्म पुर्याउन ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गरिएको जानकारी दिए।
एमालेविरुद्ध नियोजित कुप्रचार भइरहेको आरोप
एमाले सचिव महेश बस्नेतले डिजिटल माध्यमको प्रयोग गरेर एमाले नेतृत्वविरुद्ध सुनियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाए ।
उनले गत भदौ २३ र २४ गते भएका हिंसात्मक घटनामा केही डिजिटल प्लेटफर्म र विदेशी सहयोग प्राप्त संस्थाहरूको संलग्नता रहेको दाबी गर्दै यस्ता गतिविधिमार्फत मुलुकमा अस्थिरता सिर्जना गर्न खोजिएको बताए।
साथै, अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलमाथि लगाइएका आरोप राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी गर्दै बस्नेतले एमालेले त्यसको राजनीतिक र वैचारिक रूपमा प्रतिवाद गर्ने बताए। उनका अनुसार पार्टी जागरण अभियानको मुख्य उद्देश्य पनि एमालेविरुद्ध फैलाइएका भ्रम चिर्दै जनतासामु यथार्थ प्रस्तुत गर्नु हो।