सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

मोरङमा गृहमन्त्री गुरुङको निरीक्षण : सीमा सुरक्षा र सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन

आइतबार, असार २१ २०८३

मोरङ । गृहमन्त्री सुधन गुरुङले मोरङको विभिन्न सुरक्षा तथा प्रशासनिक निकायको स्थलगत निरीक्षण गर्दै सीमा सुरक्षा, प्रशासनिक सेवा प्रवाह र भौतिक पूर्वाधारलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

शनिबार विराटनगर पुगेका गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय मोरङ, रानीस्थित नेपाल–भारत सीमा नाका (जोगवनी), विराटनगर भन्सार कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्नुका साथै सुरक्षा अधिकारीहरूसँग छलफल गरे ।

जिल्ला प्रशासन कार्यालय मोरङको नवनिर्मित भवन अवलोकनका क्रममा प्रमुख जिल्ला अधिकारी युवराज कटेलबाट जिल्लाको समग्र प्रशासनिक अवस्था, सेवा प्रवाह र सुरक्षा व्यवस्थाबारे जानकारी लिएका थिए। सो अवसरमा उनले प्रशासन परिसरबाट एकीकृत सेवा सञ्चालन गर्न सकिने सुझाव दिए।

प्रदेशस्तरीय सुरक्षा अधिकारीहरूसँगको छलफलमा गृहमन्त्री गुरुङले सीमा सुरक्षा, अपराध नियन्त्रण, प्रहरी परिचालन तथा समसामयिक सुरक्षा चुनौतीबारे जानकारी लिएका थिए। साथै, रानीस्थित नेपाल–भारत सीमा नाकाको सुरक्षा व्यवस्था, आवतजावत, निगरानी प्रणाली र सम्भावित चोरी–तस्करी नियन्त्रणका उपायबारे सम्बन्धित अधिकारीसँग छलफल गरे।

विराटनगर भन्सार कार्यालयअन्तर्गतको एकीकृत जाँच चौकी (आईसीपी) निरीक्षणका क्रममा उनले भन्सार क्षेत्रको सुरक्षा व्यवस्था, राजस्व संकलन र सीमाबाट हुने अवैध कारोबार नियन्त्रणका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।

त्यसैगरी, गृहमन्त्री गुरुङले जिल्ला प्रहरी कार्यालयको हिरासत, प्रहरी ब्यारेक तथा अन्य भौतिक संरचनाको निरीक्षण गर्दै आवश्यक सुधार र व्यवस्थापनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

मोरङको निरीक्षण सम्पन्न गरेपछि गृहमन्त्री गुरुङ थप कार्यक्रमका लागि सुनसरी प्रस्थान गरे ।