सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

उच्च अदालतको फैसलापछि पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

शुक्रबार, असार १९ २०८३

महोत्तरी । सशस्त्र प्रहरीका सहायक निरीक्षक (असइ) थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरधामबाट पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभाका पूर्वसदस्य लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार कोइरीलाई बिहीबार साँझ गौशाला–५ स्थित एमाले पार्टी कार्यालय परिसरबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले अदालतको फैसलाअनुसार उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन्।

यसअघि महोत्तरी जिल्ला अदालतले २०८० मङ्सिर २८ गते यही मुद्दामा कोइरीलाई सफाइ दिएको थियो। तर बुधबार उच्च अदालत जनकपुरधामले उक्त फैसला उल्ट्याउँदै उनलाई पाँच वर्ष कैद सजाय सुनाएको हो।

महोत्तरी–१ बाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित भएका कोइरी यस वर्ष सम्पन्न उपनिर्वाचनमा पनि उम्मेदवार बनेका थिए। उनी उक्त निर्वाचनमा पराजित भएका थिए। हाल उनी एमाले मधेस प्रदेश कमिटीका सदस्यसमेत हुन्।

पक्राउपछि कोइरीलाई जिल्ला सदरमुकाम जलेश्वर लगिएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका असइ थमन विकको २०७२ साल भदौमा मधेस आन्दोलनका क्रममा जलेश्वरमा निर्घात कुटपिट भएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत जनकपुर लैजाँदै गर्दा बाटोमा रोकेर आक्रमणकारीहरूले उनलाई एम्बुलेन्सबाट झारी पुनः कुटपिट गरेका थिए। सोही घटनामा उनको मृत्यु भएको थियो।