सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

शुक्रबार, असार १९ २०८३

काठमाडौं । देशभर मनसुन सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ। तराईका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहने मौसम विभागको पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपात हुन सक्नेछ। त्यस्तै पहाडी र तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाले विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलामा जलसतह बढ्न सक्ने, पहिरो तथा डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।