बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अमेरिका पठाउन लागिएका शंकास्पद सुन–चाँदीका गरगहना बरामद, दुई जना पक्राउ

बिहिबार, असार १८ २०८३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएको कार्गोबाट सुन तथा चाँदीजस्ता देखिने ठूलो परिमाणका धातुका गरगहना बरामद गरेको छ।

कार्यालयका अनुसार असार १६ गते बिहान करिब ७:३० बजे विमानस्थलको कार्गो कम्प्लेक्स भवनस्थित एएमएस एपी–३२१ नम्बरको कार्गो बक्स एक्स–रे परीक्षणका क्रममा शंकास्पद सामग्री फेला परेको थियो। जुत्ता, पाइन्ट, साडी तथा अन्य कपडा मात्र रहेको विवरण उल्लेख गरिएको उक्त कार्गो बक्समा विवरणअनुसारका सामग्री नदेखिएपछि थप जाँच गर्दा सुन तथा चाँदीजस्ता देखिने विभिन्न प्रकारका गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार बरामद गरिएका गरगहना एपेक्स लाेजिस्टिक मार्फत काठमाडौंबाट संयुक्त राज्य अमेरिका पठाउने तयारी गरिएको थियो। उक्त सामग्री यूनिक कार्गेा  विर्तामाेड झापामार्फत पठाउन लागिएको खुलेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आशंकामा एपेक्स लजिस्टिकका सञ्चालक ४६ वर्षीय यशराज सुवेदी र युनिक कार्गो बिर्तामोडका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय मा बुझाइएको छ।

बरामद गरिएका सामग्रीमा सुनजस्ता देखिने विभिन्न डिजाइनका गरगहना, बाला, चन्द्रमा, जन्तर, ब्रुच, शिरफूल, नेपालको झण्डा अंकित ब्रुच, खुकुरी आकारका ब्रुच, मंगलसूत्र, मोतीमाला, रानीहार, त्रिशूललगायतका सामग्री रहेका छन्। त्यसैगरी चाँदीजस्ता देखिने नेकलेस, काँडावाला चुरा, शिरबन्दी सेट, झुम्का, तिलहरी तथा घाँटीमा लगाउने सिक्रीसमेत बरामद भएको प्रहरीले जनाएको छ।

बरामद गरिएका धातुका गरगहनाको वास्तविक प्रकृति, तौल तथा मूल्य निर्धारणका लागि थप परीक्षण तथा अनुसन्धान जारी रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।