जनकपुरधाम । प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो कोइरी र मधेस प्रदेशसभाका निलम्बित सदस्य अभिराम शर्मासहित छ जनालाई पाँच वर्ष कैद तथा तीन जनालाई जन्मकैदको सजाय सुनाएको छ।
उच्च अदालत जनकपुरका कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पूर्वसांसद महतो, निलम्बित प्रदेशसभा सदस्य शर्मा, धर्मेन्द्र राय, रामशङ्कर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही पाँच वर्ष कैद सजाय हुने फैसला गरेको हो।
त्यस्तै, प्रतिवादी प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई तत्कालीन मुलुकी ऐनको ज्यानसम्बन्धी महलअन्तर्गत जन्मकैदको सजाय सुनाइएको अदालतका सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए।
महोत्तरी जिल्ला अदालतले २०८० मङ्सिर २८ गते प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई जन्मकैद तथा लक्ष्मी महतो र पवन कापरलाई सफाइ दिएको थियो। उच्च अदालतले जन्मकैदसम्बन्धी फैसला सदर गर्दै महतो र कापरको हकमा जिल्ला अदालतको फैसला उल्टाएको हो।
उच्च अदालतले आफ्नो फैसलामा असई थमन विकको मृत्यु कर्तव्यबाट भएको ठहर गरेको छ। जन्मकैद सजाय पाएका तीन प्रतिवादीविरुद्ध किटानी जाहेरी परेको, अनुसन्धानका क्रममा उनीहरूले आरोप स्वीकार गरेको तथा एम्बुलेन्स चालक सुशील मिश्रसहितका साक्षीहरूको बयानबाट उनीहरूको संलग्नता पुष्टि भएको उल्लेख गरिएको छ। घटनास्थलका तस्बिरबाट पनि प्रतिवादी सञ्जयकुमार साहले विकमाथि प्रहार गरेको देखिएको अदालतको आदेशमा उल्लेख छ।
पूर्वसांसद महतो, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशङ्कर मिश्र, सुरेश पाण्डे र पवन कापरको हकमा भने थमन विकमाथि प्रत्यक्ष आक्रमण गरेको वस्तुनिष्ठ प्रमाण नभेटिए पनि जन्मकैद सजाय पाएका प्रतिवादीहरूको पोलयुक्त बयान तथा अन्य प्रमाणका आधारमा उनीहरू ज्यान मार्ने कार्यमा संलग्न रहेको ठहर गर्दै तत्कालीन मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १७(२) नम्बरबमोजिम कसुरदार ठहर गरिएको अदालतले जनाएको छ।
मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गते महोत्तरीमा कार्यस्थलतर्फ जाँदै गरेका असई थमन विकमाथि आन्दोलनकारीले कुटपिट गर्दा उनको मृत्यु भएको थियो।