काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ।
आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सम्पन्न भएको प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रस्तुत गर्नेछिन्। उक्त विधेयकमाथि दर्ता भएका संशोधन प्रस्तावहरू निर्णयार्थ पेश गरिनेछन् भने अन्तिम रूपमा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुने कार्यसूचीमा छ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सम्पन्न भएको प्रस्ताव प्रस्तुत गर्नेछन्। विधेयकमाथिका संशोधनहरू निर्णयार्थ पेश गरिएपछि पारितका लागि प्रस्ताव पनि सदनमा राखिनेछ।
त्यसैगरी, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सम्पन्न भएको प्रस्ताव प्रस्तुत गर्नेछिन्। उक्त विधेयकमाथिका संशोधन प्रस्तावहरू निर्णयार्थ पेश गरिने र अन्तिम स्वीकृतिका लागि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि सदनमा प्रस्तुत हुने कार्यसूची रहेको छ।
आजको बैठकमा यी तीनवटै महत्त्वपूर्ण विधेयक पारित गर्ने तयारी गरिएको छ।