गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा जङ्गली जनावर नियन्त्रण गर्न राखिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। घटनापछि प्रहरीले मृतकका श्रीमान्लाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिका–५ मन्टारीकी ६० वर्षीया हुमकला भण्डारीको करेन्ट लागेर मृत्यु भएको हो।
गएराति करिब १ः३० बजे घाइते भएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल, तम्घास लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार मृतकका श्रीमान् भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा बँदेललगायत जङ्गली जनावर नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी विद्युतीय पासो थापेका थिए। सोही पासोमा परेर हुमकला भण्डारीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले भेषराज भण्डारीलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली बिहानैदेखि घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।