काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र अपहरण भएको दाबी गर्दै त्यसलाई पुनः स्थापित गर्न लोकतन्त्रवादी, वामपन्थी र देशभक्त शक्तिहरू कार्यगत एकतासहित संयुक्त संघर्षमा जुट्नुपर्ने बताएका छन्।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा मंगलबार आयोजित राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रममा बोल्दै उनले देशमा बढ्दो अराजकता र वितण्डाविरुद्ध सबै देशभक्त शक्तिहरू एकजुट भएर आन्दोलनमा उत्रनुपर्ने बताएका हुन्। वर्तमान परिस्थितिको सामना गर्न संयुक्त संघर्षको विकल्प नरहेको उनको भनाइ थियो।
ओलीले वैधानिक प्रक्रियाबाट सरकार परिवर्तन गर्न नसकेपछि केही शक्तिहरू अवैधानिक र हिंसात्मक बाटोमा लागेको आरोप लगाए। हत्या, हिंसा र लुटपाटमार्फत राजनीतिक स्वार्थ पूरा गर्ने प्रयास भइरहेको भन्दै उनले प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न एमाले सधैं तयार रहेको बताए। सबै नागरिकले समान रूपमा न्याय पाउने वातावरण निर्माण गर्नु अहिलेको मुख्य आवश्यकता रहेको उनको धारणा थियो।
गत वर्ष भदौ २३ र २४ गते भएका घटनालाई उनले सामान्य नागरिक आन्दोलन नभई संविधान र लोकतन्त्रविरुद्धको योजनाबद्ध षड्यन्त्रको संज्ञा दिए। ‘जेन–जी आन्दोलन’ वा युवा विद्रोहको आवरणमा अराजकता फैलाइएको दाबी गर्दै उनले त्यस्ता गतिविधिलाई वैधानिकता दिने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाए।
फागुन २१ गते सम्पन्न निर्वाचनलाई पनि उनले भदौ महिनाका घटनालाई कानुनी तथा राजनीतिक वैधानिकता दिन गरिएको ‘नाटक’को संज्ञा दिए। सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाउँदै उनले उक्त प्रतिवेदनले घटनाको वास्तविकता ढाकछोप गर्न खोजेको आरोप लगाए।
पार्टी पुनर्गठनका विषयमा बोल्दै ओलीले तत्काल अन्य राजनीतिक दल वा समूहसँग संस्थागत पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारे। नेता–कार्यकर्तालाई यस्ता हल्लाको पछि नलाग्न आग्रह गर्दै उनले विगतका एकताहरू वैचारिकभन्दा बढी स्वार्थ र अस्वस्थ गठजोडमा आधारित भएको टिप्पणी गरे।
उनले एमालेको विचार, नीति र नेतृत्व स्वीकार गरेर व्यक्तिगत रूपमा वा साना समूहका रूपमा पार्टी प्रवेश गर्न चाहनेलाई भने उपयुक्त जिम्मेवारीसहित समेटिने बताए। निष्क्रिय पार्टी कमिटीहरूलाई पुनः सक्रिय बनाउन पुनर्गठन अभियान अघि बढाइने र पार्टीलाई थप सुदृढ बनाउन सबैबाट रचनात्मक सुझाव आवश्यक रहेको उनको भनाइ थियो।
यसैबीच, मंगलबार नै नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले राष्ट्रियता र खेलकुद विकासका विषयमा पनि सरकारको आलोचना गरे। ‘लभ आवर कन्ट्री, लभ आवर नेसन’को भावनाका साथ काम गर्नुपर्नेमा जोड दिँदै उनले भूकम्प र कोभिड–१९ पछि अर्थतन्त्र, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रलाई उकास्न आफ्नो नेतृत्वको सरकारले प्रयास गरेको दाबी गरे। वर्तमान खेलकुद क्षेत्रमा खेलाडीहरूको शारीरिक विकास र पोषणमा राज्यले पर्याप्त ध्यान दिन नसकेको उनको टिप्पणी थियो।