चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज बिहान ८ः३० बजे सुरु हुने तय भएको बन्दसत्र निर्धारित समयमा प्रारम्भ हुन सकेको छैन। प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटि सच्याउने कार्य जारी रहेकाले बन्दसत्र केही समयका लागि प्रभावित भएको हो।
उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा आयोजना गरिएको बन्दसत्रका लागि आवश्यक तयारी पूरा भइसकेको छ। प्रदर्शनी केन्द्रका तीन ठूला हलमध्ये दुई हल बन्दसत्र सञ्चालनका लागि र अर्को हल प्रतिनिधिहरूका लागि खाना तथा खाजाको व्यवस्थापनमा प्रयोग गरिएको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्र सुरु भएपछि अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेस गर्ने तथा सो प्रतिवेदनमाथि छलफल हुने कार्यसूची तय गरिएको छ।
महाधिवेशनको निर्वाचन समितिले आइतबार करिब चार हजार प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो। तर नामावलीमा नाम, विवरण तथा प्रतिनिधित्वसम्बन्धी विभिन्न त्रुटि देखिएपछि त्यसलाई सच्याउने काम जारी राखिएको छ। यही प्रक्रियाका कारण बन्दसत्रको सुरुआत ढिलो भएको बताइएको छ।
नामावली सच्याउने कार्य सम्पन्न भएपछि बन्दसत्र सुरु हुने र महाधिवेशनका पूर्वनिर्धारित कार्यक्रमहरू क्रमशः अगाडि बढाइने रास्वपा स्रोतले जनाएको छ। महाधिवेशनमार्फत पार्टीले नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनात्मक, आर्थिक र राजनीतिक प्रतिवेदनमाथि छलफल तथा अनुमोदन गर्ने कार्यसूची रहेको छ।