काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र चलिरहेको वैचारिक बहसलाई तथ्य, तर्क र लोकतान्त्रिक संस्कृतिका आधारमा अघि बढाउन आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत ‘एमालेजनमा निवेदन’ शीर्षकमा धारणा सार्वजनिक गर्दै उनले पार्टीभित्र ‘पुनर्जागरण’ र ‘यथास्थितिवाद’ बीच गम्भीर वैचारिक बहस चलिरहेको बताएका हुन्।
भट्टराईका अनुसार एमालेभित्र अहिले दुई स्पष्ट धार देखिएका छन्। एक पक्षले वैचारिक, राजनीतिक, संगठनात्मक, कार्यशैली तथा नेतृत्व तहमा व्यापक सुधारसहित पार्टीलाई पुनर्जागरणको दिशामा लैजानुपर्ने धारणा राखेको छ भने अर्को पक्षले वर्तमान संरचना र अभ्यासलाई निरन्तरता दिनुपर्ने पक्षमा रहेको छ।
पार्टीभित्र फरक मत राख्ने नेताहरूलाई सम्मान गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले तत्कालीन एमाले महासचिव मदन भण्डारीको राजनीतिक शैली स्मरण गरेका छन्। उनका अनुसार भण्डारीले फरक विचार राख्ने नेताहरूलाई कहिल्यै शत्रुका रूपमा नहेरी सम्मानपूर्वक बहस र सहकार्यको वातावरण निर्माण गरेका थिए।
भट्टराईले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी तथा सीपी मैनालीसँग वैचारिक मतभेद हुँदाहुँदै पनि मदन भण्डारीले उनीहरूलाई ‘दलाल’ वा ‘एजेन्ट’ नभनी सम्मानजनक स्थान दिएको उदाहरण प्रस्तुत गरेका छन्।
“हामी जनताको बहुदलीय जनवाद (जबज) र मदन भण्डारीका उत्तराधिकारी हौँ,” भट्टराईले लेखेका छन्, “समयअनुकूल पार्टी पुनर्गठन हुने नै छ, जहाँ सबैको सम्मान हुनेछ, निषेधको राजनीति अन्त्य हुनेछ र पार्टी सामूहिक तथा संस्थागत ढङ्गले सञ्चालन हुनेछ।”
पार्टीभित्र फरक मत राख्नेहरूलाई लक्षित गरी हुने टीकाटिप्पणीप्रति संकेत गर्दै उनले आफ्नै दलभित्रका विचार फरक भएका कार्यकर्ता वा नेताप्रति बैरभाव राख्नु एमालेको राजनीतिक संस्कृति र परम्पराविपरीत हुने बताएका छन्।
उनले प्रतिस्पर्धी राजनीतिक शक्तिहरूसँग समेत सहकार्य गर्दै आएको एमालेले आफ्नै संगठनभित्रको फरक विचारलाई शत्रुताका रूपमा लिन नहुने उल्लेख गरेका छन्। “देशभक्त, लोकतान्त्रिक र समाजवादी मान्यता बोकेका एमालेका कुनै पनि नेता–कार्यकर्ता कसैका एजेन्ट वा दलाल हुन सक्दैनन्,” उनले बताएका छन्।
भट्टराईले अन्त्यमा पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई वर्तमान बहसलाई सही राजनीतिक तथा वैचारिक दिशामा लैजान आग्रह गर्दै स्वस्थ बहस र लोकतान्त्रिक संवादको संस्कृतिलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।