चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज बिहान ८ः३० बजेदेखि सुरु हुँदैछ। उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा आयोजना हुने बन्दसत्रका लागि दुई वटा ठूला हल तयारी अवस्थामा राखिएका छन् भने अर्को हलमा प्रतिनिधिहरूका लागि खाना तथा खाजाको व्यवस्था गरिएको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुआत अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले प्रस्तुत गर्ने अनुशासन आयोगको प्रतिवेदनबाट हुनेछ। त्यसपछि प्रतिवेदनमाथि छलफल गरिनेछ। बिहान ९ बजे कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि प्रतिनिधिहरूबीच छलफल हुने कार्यक्रम तय गरिएको छ।
यसैगरी बिहान १० बजे महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसपछि सहमहामन्त्रीमार्फत विधानसम्बन्धी प्रस्तावमाथि छलफल गरी अनुमोदन गरिनेछ। महाधिवेशनको महत्वपूर्ण सत्रका रूपमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ, जसमा छलफल र अनुमोदन पनि गरिनेछ।
बन्दसत्रको अर्को महत्वपूर्ण चरणमा सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्नेछन्। त्यसपछि आयोजक समितिले सम्पूर्ण जिम्मेवारी केन्द्रीय निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यसूची रहेको छ।
दिउँसोको भोजनपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी विस्तृत जानकारी र तालिका सार्वजनिक गर्नेछ। रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार बन्दसत्रमा चार हजार २११ प्रतिनिधि, पर्यवेक्षक तथा स्वयंसेवक सहभागी रहनेछन्।
उम्मेदवारी दर्तादेखि अन्तिम नामावलीसम्म
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज दिउँसो १ बजेपछि उम्मेदवारी फाराम वितरण गरिनेछ। उम्मेदवारको मनोनयन दर्ता दिउँसो २ बजेदेखि ४ बजेसम्म हुनेछ भने साँझ ६ बजे प्रारम्भिक नामावली प्रकाशन गरिनेछ।
त्यसपछि साँझ ६ बजेदेखि ७ बजेसम्म दाबी–विरोध दर्ता गर्न सकिनेछ। दाबी–विरोधमाथि ७ बजेदेखि ९ बजेसम्म छानबिन गरिने र राति ९ः१५ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। अन्तिम उम्मेदवार सूची राति ११ बजे प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ।
मंगलबार मतदान
महाधिवेशनको निर्वाचन प्रक्रिया असार ९ गते बिहान ८ः३० बजेदेखि सुरु हुनेछ। पहिलो चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। मतदान सम्पन्न भएपछि मतगणना गरी करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिनेछ। आवश्यक परे त्यसपछि दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाइनेछ।
रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्र आइतबार चितवनको गेष्टहाउस चौरमा भव्य रूपमा सम्पन्न भएको थियो। अब बन्दसत्र र निर्वाचन प्रक्रियासँगै पार्टीले नयाँ नेतृत्व चयनतर्फ औपचारिक रूपमा कदम अघि बढाएको छ ।