सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत, प्रतिव्यक्ति आयमा पनि अग्रस्थान

सोमबार, असार ८ २०८३

बागमती । बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत पुगेको छ, जुन राष्ट्रिय औसतभन्दा उल्लेखनीय रूपमा उच्च रहेको छ। देशभरको साक्षरता दर ७६.२ प्रतिशत रहेको अवस्थामा बागमती प्रदेशले शिक्षा क्षेत्रमा अग्रणी स्थान कायम राखेको तथ्य प्रदेश सरकारले सार्वजनिक गरेको बजेट विवरणमा उल्लेख छ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिए पनि बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। यसले प्रदेशको आर्थिक गतिविधि राष्ट्रिय औसतभन्दा तीव्र गतिमा विस्तार भइरहेको संकेत गर्दछ।

आर्थिक वर्ष २०८२/८३ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) रु ६६ खर्ब नौ अर्ब पुग्ने अनुमान गरिएको छ। त्यसमध्ये बागमती प्रदेशको योगदान ३६.७ प्रतिशत अर्थात् करिब रु २४ खर्ब २३ अर्ब रहने अपेक्षा गरिएको छ, जसले राष्ट्रिय अर्थतन्त्रमा प्रदेशको प्रमुख भूमिका झल्काउँछ।

प्रतिव्यक्ति आयको हिसाबले पनि बागमती प्रदेश सबैभन्दा अगाडि रहेको छ। राष्ट्रिय प्रतिव्यक्ति आय एक हजार ५३५ अमेरिकी डलर रहने अनुमान गरिँदा बागमती प्रदेशको प्रतिव्यक्ति आय दुई हजार ६४४ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ।

गरिबीका सूचकाङ्कमा समेत बागमती प्रदेशको अवस्था राष्ट्रिय औसतभन्दा राम्रो देखिएको छ। देशभर निरपेक्ष गरिबी २०.२७ प्रतिशत र बहुआयामिक गरिबी १७.४ प्रतिशत रहेको अवस्थामा बागमती प्रदेशमा निरपेक्ष गरिबी १२.५९ प्रतिशत र बहुआयामिक गरिबी ७ प्रतिशत मात्र रहेको प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

शिक्षा, आयस्तर, आर्थिक वृद्धि र गरिबी न्यूनीकरणका अधिकांश सूचकमा राष्ट्रिय औसतभन्दा राम्रो प्रदर्शन गर्दै बागमती प्रदेशले विकासका प्रमुख सूचकहरूमा आफ्नो अग्रता कायम राखेको देखिएको छ।