चितवन ।रास्वपाको महाधिवेशनमा सहभागी हुन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन चितवन पुगेका छन्।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले एक राजनीतिक दलको महाधिवेशनमा अर्को दलका नेताले शुभकामना दिनु स्वाभाविक तथा लोकतान्त्रिक संस्कारको सकारात्मक अभ्यास भएको बताए।
उनले गत निर्वाचनमार्फत उल्लेखनीय जनमत प्राप्त गरेको र जनताको विशेष अपेक्षाको प्रतिनिधित्व गर्ने दलको ऐतिहासिक महाधिवेशनमा सहभागी हुनु जिम्मेवार राजनीतिक नेतृत्वको दायित्व भएको उल्लेख गरे। रास्वपाको महाधिवेशनमा आफ्नो उपस्थिति राजनीतिक संस्कार र जिम्मेवारीबोधको प्रतीक भएको उनको भनाइ थियो।
यसै क्रममा अध्यक्ष लिङ्देनले राप्रपाको आगामी महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते आयोजना गर्ने निर्णय भएको जानकारी दिए। आम निर्वाचनका कारण केही समयपछि सारिएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको भावी कार्ययोजना, नीति तथा कार्यक्रम तय गर्ने उनले बताए।
उनका अनुसार महाधिवेशन राजनीतिक दलको सबैभन्दा महत्वपूर्ण वैचारिक तथा संगठनात्मक मञ्च भएकाले प्रमुख नीतिगत निर्णयहरू त्यहीँबाट हुनेछन्।