काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन्।
थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार सभापति थापा उद्घाटन समारोहमा उपस्थित भई शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको छ।
रास्वपाले आफ्नो पहिलो महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा दिएको थियो। सोही निमन्त्रणाअनुसार कांग्रेस सभापति थापा कार्यक्रममा सहभागी हुन लागेका हुन्।
रास्वपाको प्रथम महाधिवेशन आज चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा उद्घाटन हुँदैछ। महाधिवेशनमार्फत पार्टीले आगामी संगठनात्मक संरचना, नेतृत्व चयन तथा राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।
महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको सहभागिता रहनेछ भने विभिन्न राजनीतिक दलका नेताहरूले पनि शुभकामना मन्तव्य दिने कार्यक्रम तय गरिएको छ।