चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटनस्थल भरतपुरस्थित गेस्टहाउस चौर गएरातिको भारी वर्षापछि जलमग्न बनेको छ। टेन्टभित्र पानी जम्नुका साथै मञ्च निर्माण गरिएको क्षेत्रमा समेत पानी भरिएको छ।
महाधिवेशनको तयारीमा खटिएका टोलीले मोटरको सहायताले जमेको पानी निकाल्ने काम गरिरहेका छन्। उद्घाटन कार्यक्रमअघि मञ्च निर्माण तथा अन्य व्यवस्थापनका काम पनि तीव्र गतिमा भइरहेको छ।
दिउँसो २ बजे सुरु हुने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ।
पार्टी सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार महाधिवेशनमा ३३ देशका प्रवास सम्पर्क विभागबाट १७० प्रतिनिधि सहभागी हुनेछन्। विधानअनुसार पार्टी सभापतिबाट १३८ जना प्रतिनिधि मनोनयन भइसकेका छन् भने समूहगत रूपमा पार्टी प्रवेश गरेका व्यक्तिमध्ये १९२ जनालाई प्रतिनिधि चयन गरिएको छ।
प्रदेशगत रूपमा कोशीबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।
महाधिवेशन प्रतिनिधिमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ। प्रदेश समितिका सबै सदस्य, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग तथा सल्लाहकार परिषद्का पदाधिकारी पनि प्रतिनिधिका रूपमा सहभागी छन्।
त्यसैगरी, संघीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रका ३८ विभागबाट ११–११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट पनि ११–११ जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको छ। प्रदेश सम्पर्क विभागबाट तीन–तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि रहनेछन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट पराजित उम्मेदवार, समानुपातिक सूचीमा रहेका व्यक्ति तथा पार्टीमा सक्रिय सदस्यहरूलाई पनि महाधिवेशन प्रतिनिधि बनाइएको छ। केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्यहरू समेत महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भएका छन्।