काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै थापाले रास्वपा सभापति रवि लामिछाने तथा सम्पूर्ण रास्वपा परिवारलाई महाधिवेशनको सफलताको शुभकामना दिएका हुन्।
थापाले पार्टी स्थापनाको छोटो अवधिमै रास्वपाले उल्लेखनीय जनसमर्थन प्राप्त गर्दै राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति बनाएको उल्लेख गरेका छन्। उनले संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको भन्दै नेतृत्वको भूमिकाको समेत सराहना गरेका छन्।
उनले प्रथम महाधिवेशनलाई रास्वपाका लागि विचार, संगठन र नीतिगत रूपमा अझ परिपक्व, जिम्मेवार र दूरदर्शी बन्ने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्। साथै लोकतान्त्रिक मूल्य–मान्यता, संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण तथा जवाफदेही राजनीतिक अभ्यासलाई थप सुदृढ बनाउन महाधिवेशनले ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
थापाले रास्वपाको आगामी राजनीतिक यात्रा र प्रथम राष्ट्रिय महाधिवेशनको पूर्ण सफलताको कामना समेत गरेका छन्।