बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आयातित पुस्तकमा १० प्रतिशत कर लगाउदा व्यवसायीले बढाए २० प्रतिशतले मूल्य

मंगलबार, भाद्र १७ २०७६

काठमाडौं भदौ,  १७–  सरकारले आयाति पुस्तकमा १० प्रतिशत  भन्सार लगाउँदा बजारमा पुस्तक विक्रेताले भने २० प्रतिशतले मूल्य बढाएका छन् । 

पुस्तकको बिमा, ढुवानी खर्च वृद्धि, सामाजिक सुरक्षामा आबद्ध भएका कर्मचारीको दायित्व र घरबहाल करजस्ता विषयलाई बहाना बनाएर उनीहरुले मूल्य बढाएका हुन् । 
भन्सार बढेसँगै विदेशबाट आयात हुने पुस्तक गत वर्षको तुलनामा यो वर्ष ६० प्रतिशतले घटेको छ । सरकारले आयातित पुस्तकमा १० प्रतिशत कर लगाएसँगै पुस्तकको आयात घटेको हो ।

भन्सार विभागका अनुसार यो वर्षको साढे दुई महिनामा नौ करोड आठ लाख रुपैया बराबरका पुस्तक आयात भएका छन् । जबकी अघिल्लो वर्ष यही अवधिमा २४ करोड ९८ लाखका पुस्तक आयात भएका थिए । यसरी हेर्दा आयातीत पुस्तकमा १० प्रतिशत कर लगाएपछि  विदेशी पुस्तकको आयात ६० प्रतिशतले संकुचन भएको छ ।

नेपालमा हरेक वर्ष १ अर्बभन्दा बढीको कारोबार आयातीत पुस्तकको हुन्छ । समग्र पुस्तकको करोबार वार्षिक करिब चार अर्ब बराबरको हुने व्यवसायीहरुको भनाई छ । यो कारोवारमा  स्कुल  र विश्वविद्यालय स्तरका पुस्तकको हिस्सा झण्ड ै७५ प्रतिशत छ ।

आयातीत पुस्तकमा १० प्रतिशत भन्सार महसुल लगाउँदा  नेपालमा स्थापना भएका  मुद्रण उद्योग संरक्षण  हुने सरकारी दावी  छ ।