सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

प्रतिपक्षको आवाज नसुनिएको भन्दै हर्कराज राईको असन्तुष्टि

शुक्रबार, असार ५ २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे आफूहरूले लामो समयदेखि आवाज उठाउँदै आए पनि सुनुवाइ नभएको गुनासो गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीले प्रयोग गरेको ‘राष्ट्रघाती’ शब्द सच्याउनुपर्ने माग आफूहरूले करिब एक महिनादेखि गर्दै आएको बताए। उक्त विषयमा विरोध जनाउँदै १६ दिनदेखि प्लेकार्डसहित आन्दोलन गरिरहेको र सभामुखसँग पनि सो शब्द संसद्को अभिलेखबाट हटाउन पटक–पटक आग्रह गरिएको उहाँले उल्लेख गर‍े।

प्रधानमन्त्री र सभामुख दुवैले प्रतिपक्षका मागलाई बेवास्ता गरेको आरोप लगाउँदै साम्पाङले सदनमा असन्तुष्टि व्यक्त गरे।

उनले भने, “प्रधानमन्त्रीज्यूको वक्तव्य सच्याउनुपर्छ भनेर माग गरेको करिब एक महिना भयो। प्लेकार्ड बनाएर उभिएको पनि १६ दिन भइसक्यो। सभामुखलाई पनि ‘राष्ट्रघाती’ शब्द अभिलेखबाट हटाउन आग्रह गरेको त्यति नै समय बितिसकेको छ।”

साम्पाङले जनप्रतिनिधिहरूबीच संवाद र सुनुवाइको संस्कृतिमाथि प्रश्न उठाउँदै सरकार र संसद् नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाए।

“अब तपाईँले पनि नसुन्ने, उहाँले पनि नसुन्ने, कसैले कसैको कुरा नसुन्ने हो भने यो ढुङ्गाको देश हो कि मान्छेको देश हो भन्ने लाग्न थालेको छ,” भन्दै उनले आफ्नो असन्तुष्टि व्यक्त गरे।