ललितपुर । नेपालको सबैभन्दा लामो तथा करिब १,६०० वर्ष पुरानो सांस्कृतिक–धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार जावलाखेलमा भोटो देखाउने कार्यक्रमसँगै औपचारिक रूपमा सम्पन्न हुने भएको छ।
ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्काका अनुसार जावलाखेलस्थित ललित मण्डपमा राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाउने तयारी अन्तिम चरणमा पुगेको छ। हरेक वर्षझैँ यस वर्ष पनि सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई भोटो प्रदर्शन गरिनेछ।
वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। परम्पराअनुसार रथ जावलाखेल पुगेको चौथो दिन भोटो देखाउने जात्रा आयोजना गरिन्छ।
वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको जात्रा नेपालको प्राचीन तथा विशिष्ट सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ। राजतन्त्रकालमा राजा सहभागी हुने यस समारोहमा गणतन्त्र स्थापनापछि राष्ट्रपतिले सहभागिता जनाउँदै आएका छन्।
भोटो जात्रा सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखी बाजागाजासहित जावलाखेलबाट बुङ्मतीस्थित मच्छिन्द्रबहालमा लगेर विराजमान गराउने परम्परा रहेको छ।
वडाध्यक्ष खड्काले यस वर्षको जात्रा शान्तिपूर्ण, व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै भोटो जात्रामा सहभागी हुने भक्तजन तथा दर्शकलाई सुरक्षा र व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका छन्। साथै, उनले जावलाखेल क्षेत्रमा फुटपाथमा व्यापार नगर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरेका छन्।