काठमाडौँ । देशका विभिन्न क्षेत्रमा मनसुनजन्य वर्षा सक्रिय भइरहेका बेला तराईका जिल्लामा अत्यधिक गर्मी बढेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा गोरखा, मोरङ, सुनसरी र झापामा भारी वर्षा भएको छ भने भैरहवामा तापक्रम ४१.५ डिग्री सेल्सियस पुगेको छ।
विभागका अनुसार गोरखामा ७१.८ मिलिमिटर, मोरङमा ६१.८ मिलिमिटर, सुनसरीमा ५१.४ मिलिमिटर र झापामा ७१.२ मिलिमिटर वर्षा मापन गरिएको छ। झापामा अघिल्लो दिन १०३ मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरिएको थियो।
यता तराईका विभिन्न जिल्लामा गर्मी उल्लेखनीय रूपमा बढेको छ। भैरहवामा ४१.५ डिग्री सेल्सियस तापक्रम मापन हुँदा नेपालगञ्जमा ४०.४ डिग्री र धनगढीमा ३८.८ डिग्री तापक्रम रेकर्ड भएको छ। राजधानी काठमाडौंमा पनि तापक्रम बढेर ३१.३ डिग्री सेल्सियस पुगेको विभागले जनाएको छ।
मौसमविद् दिनकर कायस्थका अनुसार आज धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, घोराही, भैरहवा र सिमरा क्षेत्रमा तातो दिन रहने सम्भावना छ। विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि गर्मीको प्रभाव कायम रहने जनाएको छ।
हाल देशमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा पनि छिटपुट वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूले अत्यधिक गर्मी तथा सम्भावित चट्याङसहितको वर्षाबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।