काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने भएको छ। संसद सचिवालयका अनुसार बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको बजेटमाथि जारी छलफलका क्रममा उठेका जिज्ञासा तथा चासोबारे विभिन्न मन्त्रालयका मन्त्रीहरूले स्पष्टीकरण दिनेछन्। आजको बैठकमा शिक्षा तथा खेलकुद, विज्ञान–प्रविधि तथा नवप्रवर्तन, कानून–न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित बजेट शीर्षकमाथिका प्रश्नहरूको जवाफ दिइनेछ।
यस्तै, परराष्ट्र, अर्थ, रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकमाथि उठेका विषयमा समेत सम्बन्धित मन्त्रीहरूले धारणा राख्ने कार्यसूची तय गरिएको छ।
बैठकमा सभामुखले विनियोजन विधेयक–२०८३ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमा सांसदहरूले दर्ता गराएका खर्च कटौती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।