सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

रास्वपाको प्रथम महाधिवेशन तयारी तीव्र, भरतपुरमा आधुनिक डोम निर्माण हुँदै

बिहिबार, असार ४ २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ। उद्घाटन समारोहका लागि भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउस चौरमा अत्याधुनिक संरचना निर्माणको काम धमाधम भइरहेको छ।

महाधिवेशन उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त विशाल डोम निर्माण गरिँदै छ। विशेष वाटरप्रुफ टेन्साइल फेब्रिकबाट तयार हुने डोमले सहभागीलाई घाम, पानी तथा हावाको असरबाट सुरक्षित राख्ने जनाइएको छ।

निर्माणको जिम्मा पाएको मिडिया स्पेस सोलुसन काठमाडौंका प्रबन्ध निर्देशक सिर्जल भट्टराईका अनुसार करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा तीनवटा डोम जोडेर एउटै विशाल हल तयार गरिनेछ। डोमभित्र एलइडी स्क्रिन, पङ्खा, कुलर तथा पर्याप्त बस्ने व्यवस्था मिलाइनेछ भने सहभागीले सहज रूपमा मञ्च अवलोकन गर्न सक्ने गरी संरचना तयार पारिनेछ।

रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार महाधिवेशनमा सहभागी तथा आगन्तुकका सवारीसाधनका लागि केन्द्रीय बस टर्मिनल क्षेत्रमा पार्किङको व्यवस्था गरिनेछ। उद्घाटन सत्रमा राष्ट्रिय राजनीतिक दलका शीर्ष नेतासँगै छिमेकी मुलुकका प्रतिनिधिलाई पनि आमन्त्रण गरिएको पार्टीले जनाएको छ।

महाधिवेशनको बन्दसत्रमा करिब तीन हजार प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ। उद्घाटन सत्र गेष्टहाउस चौरमा हुने भए पनि बन्दसत्र भने नजिकै रहेको चितवन उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिने तयारी गरिएको छ।