काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।
त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरेपछि नियमानुसार सेवामा नफर्किएका तथा तोकिएको सेवा अवधि पूरा नगरी जागिर छाडेका शिक्षक तथा कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो।
समितिले तोकिएको समयसीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा र प्रचलित नियमअनुसार कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।
त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवा दायित्व पूरा नगरेका ५० जना प्राध्यापकबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भइसकेको छ।
विश्वविद्यालयले अध्ययन बिदालाई दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रियस्तरको प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको जनाएको छ।
तर केही प्राध्यापकहरूले अध्ययन बिदाको दुरुपयोग गर्दै अध्ययन सम्पन्न गरेपछि विश्वविद्यालयमा नफर्किँदा संस्थालाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिविको भनाइ छ।
त्रिविले अध्ययन बिदा सुविधा उपयोग गर्ने प्राध्यापक तथा कर्मचारीले सम्झौताअनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रकम असुली तथा आवश्यक कानुनी प्रक्रिया निरन्तर अघि बढाइने जनाएको छ।