सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

चीनमा परराष्ट्रमन्त्री खनाल र वाङ हुनिङबीच भेटवार्ता

मंगलबार, असार २ २०८३

काठमाडौं । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङबीच आज बेइजिङमा भेटवार्ता भएको छ।

त्यहाँस्थित नेपाली दूतावासका अनुसार भेटमा नेपाल–चीन सम्बन्धका विविध आयामबारे छलफल भएको थियो। विशेषगरी विकास सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदानप्रदान तथा जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।

भेटका क्रममा मन्त्री खनालले नेपाल–चीनबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ र गतिशील बनाउन वाङ हुनिङको प्रतिबद्धताको प्रशंसा गर्दै दुई देशबीचको परम्परागत मित्रता र पारस्परिक सहयोग आगामी दिनमा थप मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।

भ्रमणका क्रममा मन्त्री खनालले आजै ह्वाइट पागोडाको अवलोकन गर्ने तथा त्यसपछि चिनियाँ सञ्चारमाध्यम र रोयटर्स समाचार संस्थालाई अन्तर्वार्ता दिने कार्यक्रम रहेको छ। साथै उहाँ अपराह्न नेपाली दूतावास, बेइजिङद्वारा आयोजित लगानी सम्मेलनमा सहभागी हुनेछन् ।

परराष्ट्रमन्त्री खनाल चिनियाँ विदेशमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार बेइजिङ पुगेका थिए। सोमबार उनीहरूबीच प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता सम्पन्न भएको थियो।

मन्त्री खनाल चीन भ्रमण पूरा गरी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।