सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

ठेकेदारकाे खुट्टा भाँचिदिन भौतिक मन्त्रीको निर्देशनपूर्ण धम्कीकाे चर्चा

सोमबार, असार १ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आइतबार सामाजिक सञ्जालमा गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालसँगको तस्बिर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्ने टिप्पणी गरेका थिए ।

उक्त तस्बिर सार्वजनिक भएको केही समयमै भौतिक पूर्वाधार तथा यातायातमन्त्री लम्सालको एक अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा उनले काममा ढिलाइ गर्ने ठेकेदारलाई खोजेर ल्याउन र आवश्यक परे “खुट्टा भाँचिदिएर भए पनि काम लगाउन” निर्देशन दिएको भिडियो सार्वजनिक भएपछि त्यसबारे बहस सुरु भएको हो।

मन्त्री लम्साल आइतबार मुग्लिङ–नागढुंगा सडकखण्डको निरीक्षणमा पुगेका बेला सडक क्षेत्रमा रहेका बिजुलीका पोल सार्ने काममा भएको ढिलाइप्रति असन्तुष्टि व्यक्त गर्दै कडा टिप्पणी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

घटनास्थलमा धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयसहित सुरक्षा निकायका अधिकारीहरू उपस्थित रहेको बताइएको छ। निरीक्षणका क्रममा मन्त्री लम्सालले निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुका साथै स्थानीयवासीको अपेक्षा अनुरूप सडक निर्माण छिटो सम्पन्न हुनुपर्नेमा जोड दिनुभएको थियो।

उgले बिजुलीका पोल स्थानान्तरण तथा सडक निर्माणमा आवश्यक सामग्रीको आपूर्ति र समन्वयका लागि सरकारले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै सडक विभागलगायत सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिएकाे बताइएकाे छ ।

यद्यपि, ठेकेदारप्रति प्रयोग गरिएको भाषाशैलीलाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। केहीले यसलाई विकास निर्माणमा देखिएको ढिलासुस्तीप्रतिको आक्रोशका रूपमा व्याख्या गरेका छन् भने केहीले सार्वजनिक पदमा रहेका व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनु अनुचित भएको टिप्पणी गरेका छन्।