कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनाको छानबिन गर्न प्रदेश सरकारले समिति गठन गरेको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।
मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले मन्त्रीस्तरीय निर्णयअनुसार गठन गरिएको समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको जानकारी दिनुभयो।
समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन्।
गत जेठ २९ गते वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारीहरूले टेम्पोलाई भिरबाट खसालेको देखिने भिडियो सार्वजनिक भएपछि उक्त घटनाले व्यापक चर्चा र विवाद निम्त्याएको थियो। त्यसपछि प्रदेश सरकारले घटनाको यथार्थता पत्ता लगाउन छानबिन समिति गठन गरेको जनाएको छ।
सचिव कोइरालाले मन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिएको बताउँदै छानबिनबाट दोषी ठहर हुने व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने बताए ।