सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

काभ्रेका नदी–तटीय क्षेत्रमा मौसम र बाढी मापन उपकरण विस्तार

सोमबार, असार १ २०८३

काभ्रेपलाञ्चोक ।  वर्षायाममा हुनसक्ने बाढी तथा अन्य प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न काभ्रेपलाञ्चोकका नदी–तटीय क्षेत्रमा मौसम तथा बाढी मापन केन्द्रहरूको विस्तार थालिएको छ।

जल तथा मौसम विज्ञान विभागले सुनकोशी र रोशी नदी आसपासका क्षेत्रमा थप मौसम तथा बाढी मापन उपकरण जडान गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। यसअन्तर्गत जिल्लामा तीन वटा बाढी मापन केन्द्र र एक स्थानमा मौसम मापन केन्द्र थप स्थापना गरिनेछ। उपकरण जडानअघि विभागले स्थानीय तह, सरोकारवाला निकाय र नागरिकसँग छलफलसमेत गरिसकेको छ।

विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार धुलिखेल, खोपासी, नाला, पाँचखाल, मण्डनदेउपुर, दोलालघाट र पचुवारघाटमा मौसम मापन उपकरण सञ्चालनमा छन्। यस्तै, सुनकोशी नदीका दोलालघाट र पचुवारघाट तथा पनौती बजार नजिक बाढी मापन उपकरण जडान गरिएको छ।

अब रोशी गाउँपालिका–२ फलामेसाँघुमा मौसम मापन उपकरण तथा पनौती–नमोबुद्ध सिमाना, रोशी खोला पुल र रोशी–सुनकोशी सङ्गमस्थल नेपालथोक नजिकका पुलमा थप बाढी मापन उपकरण जडान गर्ने तयारी भइरहेको छ।

यसैबीच, पनौतीस्थित गोरखनाथ मन्दिर नजिक बाढीको पूर्वसूचना दिने चेतावनी बत्ती पनि परीक्षणका रूपमा जडान गरिएको विभागले जनाएको छ। यी उपकरणहरूले समयमै सूचना उपलब्ध गराएर बाढीजन्य जोखिम न्यूनीकरण तथा जनधनको क्षति कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।