सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सोमबार, असार १ २०८३

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।

आजको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ। विभिन्न मन्त्रालयका बजेट शीर्षकलाई समूहीकृत गरी सांसदहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

कार्यसूचीअनुसार युवा तथा रोजगार, उद्योग–वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा वातावरण, सञ्चार तथा सूचना प्रविधि, संस्कृति–पर्यटन तथा नागरिक उड्डयन, शिक्षा–विज्ञान तथा खेलकुद, भूमि व्यवस्था–सहकारी तथा गरिबी निवारण, सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत विनियोजित बजेटमाथि छलफल हुनेछ।

यता, राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफललाई निरन्तरता दिइनेछ। बैठकमा उठेका जिज्ञासा तथा प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची रहेको जनाइएको छ।

संसद्मा बजेटमाथिको छलफलसँगै आगामी आर्थिक वर्षका सरकारी नीति, कार्यक्रम र खर्चका प्राथमिकताबारे सांसदहरूबीच व्यापक बहस हुने अपेक्षा गरिएको छ।