काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई वास्तविक अर्थमा सेवाको प्रतीकका रूपमा रुपान्तरण गर्नु आजको आवश्यकता रहेको बताएका छन्।
काठमाडौं महानगरपालिका वडा नं। ८ ले सामाजिक सेवामा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले सम्मानित व्यक्तित्वहरूले आ–आफ्नो क्षेत्र र पेसाको विकासमा मात्र नभई लोकतन्त्रको जग बलियो बनाउन समेत महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे ।
“राजनीतिलाई वास्तविक र सेवाको प्रतीकका रूपमा रुपान्तरण गर्नुपर्ने अहिलेको आवश्यकता हो। हामी सबै मिलेर यो बाटो बनाउन केही योगदान गरौँ,” उनले भने।
कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाले सम्मान ग्रहण गर्दै वडा कार्यालय नागरिकको सुख–दुःखमा साथ दिने निकाय भएको बताए। सक्रिय जीवनपछि घरमै सीमित भएका व्यक्तिहरूलाई सार्वजनिक रूपमा सम्मान गरेर वडाले सकारात्मक सन्देश दिएको उनको भनाइ थियो।
कार्यक्रममा वडाध्यक्ष तथा काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले समाजको समृद्धि र विकासका लागि प्रतिशोधभन्दा स्वच्छ प्रतिस्पर्धाको संस्कृति आवश्यक रहेको बताए। आफ्नो वडामा विभिन्न क्षेत्रका विशिष्ट योगदान दिएका व्यक्तित्वहरू रहनु गौरवको विषय भएको उनले उल्लेख गरे।
कार्यक्रममा समाज, प्रशासन, खेलकुद, धर्म–संस्कृति, कला, साहित्य, स्वास्थ्य, उद्यम तथा विभिन्न क्षेत्रमा योगदान पुर्याएका करिब ७० जना व्यक्तित्वलाई सम्मान गरिएको थियो।
सम्मानित हुनेहरूमा ज्येष्ठ नागरिक रत्नमान श्रेष्ठ, शारदामान राजभण्डारी, हिराबाबा श्रेष्ठ, ठूली सिलवाल, आशामरू सङ्गत, रामप्रसाद चौलागाईं र गणेश महर्जन रहेका छन्। त्यसैगरी राष्ट्रसेवक कर्मचारी ज्ञानेन्द्रराज बैद्य, सुमन वैद्य, सानु डङ्गोल, नेत्र तिमल्सिना, जनकराज ढुङ्गाना, टङ्कमणि शर्मा र नवदत्त उपाध्यायलाई पनि सम्मान प्रदान गरिएको थियो।
खेलकुदतर्फ कविराज नेगी, अदिप्शा बैद्य, उदयमान श्रेष्ठ, मनिष सेढाईँ, प्रशान्तमान श्रेष्ठ, सुरेन्द्र डङ्गोल तथा रञ्जनमान श्रेष्ठ सम्मानित भए। धर्म तथा संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने संस्कृतिविद् मुकुन्द वैद्य, पुजारी मृत्युञ्जय कर्माचार्य, डा केदारमान भण्डारी, बाजागुरु समिर सङ्गत, रामकृष्ण डङ्गोल, भाइराजा डङ्गोल, राजेश सङ्गत तथा समाजसेवी रामकुमार श्रेष्ठ र अनन्तप्रसाद भेटवाललाई सम्मान गरिएको थियो।
त्यस्तै कला तथा साहित्य विधातर्फ राजेश मानन्धर, अजित गौतम, सरिता मिश्र, महेश्वर राजभण्डारी, अच्युतराम भण्डारी, नरेन्द्रराज शर्मा, उद्धवप्रसाद भट्टराई र सजल राजभण्डारीलाई सम्मान प्रदान गरिएको थियो।