काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्दैछन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध तथा आपसी सहकार्यका विविध विषयमा उच्चस्तरीय छलफल हुने भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका दौरान मन्त्री खनालले राजधानी बेइजिङमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। साथै, उनले चीन सरकारका विभिन्न उच्च पदाधिकारीसँग शिष्टाचार भेटवार्ता पनि गर्नेछन्।
भेटघाटका क्रममा नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने, आर्थिक तथा विकास साझेदारी विस्तार गर्ने र विभिन्न क्षेत्रमा सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान हुने जनाइएको छ।
भ्रमणको क्रममा बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा पनि मन्त्री खनाल सहभागी हुनेछन्। सम्मेलनमार्फत नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्य राखिएको छ। सो अवसरमा उनले चिनियाँ व्यवसायीहरूसँग अन्तरक्रिया गर्दै नेपालमा उपलब्ध लगानीका अवसर तथा सम्भावनाबारे जानकारी गराउने कार्यक्रम रहेको छ।
त्यसैगरी, नेपाली राजदूतावासद्वारा आयोजना गरिने स्वागत समारोहमा सहभागी हुँदै मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा संवाद गर्नेछन्।
मन्त्री खनालको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उत्तर–पूर्वी महाशाखा प्रमुख भृगु ढुंगना तथा बेइजिङस्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाल लगायतका अधिकारी सहभागी रहेका छन्।