सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

बागलुङको ढोरपाटनमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

शनिबार, जेष्ठ ३० २०८३

बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ प्याङखोलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

गए राति बोबाङबाट सालझण्डी–ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजारतर्फ आउँदै गरेको ग१त ६९८० नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।

दुर्घटनामा आशिष घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ। कार्यालयका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरका अनुसार ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो।

प्रहरीका अनुसार चालक घर्तीको शव दुर्घटनास्थलभन्दा करिब ७० मिटर तल फेला परेको थियो। मध्यरातमा दुर्घटना भएकाले उद्धार तथा खोजी कार्यमा केही कठिनाइ भएको भए पनि अहिले शव भिरबाट निकालिएको छ।

प्रहरी निरीक्षक मानन्धरका अनुसार दुर्घटना राति करिब १ बजेतिर भएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको र थप व्यक्ति सवार भए/नभएको विषयमा खोजी गर्दा चालक मात्रै रहेको पुष्टि भएको उनले भने ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।