काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले भारतीय सीमा सुरक्षा बलले सुस्तामा नेपाली नागरिकमाथि हप्कीदप्की गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल जवाफ दिन माग गरेका छन् ।
शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष राईले भारतीय पक्षको सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली नागरिकमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै त्यसबारे रक्षामन्त्रीले संसदमा स्पष्ट जवाफ दिनुपर्ने बताए ।
उनले नेपाली सेना सीमा क्षेत्रमा अवलोकनका लागि समेत जान नसक्ने अवस्था किन सिर्जना भएको भन्दै प्रश्न उठाए। यदि नेपाली सेनालाई सीमामा पुग्न वा निरीक्षण गर्न नपाउने कुनै सन्धि वा सम्झौता भएको भए त्यससम्बन्धी कागजात संसदलाई उपलब्ध गराउन सरकारसँग माग गरे ।
राईले नेपाली नागरिक आफ्नै भूमिको संरक्षणका लागि निहत्था रूपमा संघर्ष गरिरहँदा सरकारले पर्याप्त चासो नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले सुरक्षा व्यवस्थाविनाको खुला सीमाना जो–कसैले मिच्न सक्ने अवस्था रहेको उल्लेख गर्दै सरकारले यथार्थ जानकारी संसदसमक्ष प्रस्तुत गर्नुपर्ने बताए ।
संविधानले सूचनाको हक सुनिश्चित गरेको उल्लेख गर्दै अध्यक्ष राईले सीमा सुरक्षासँग सम्बन्धित विषयमा संसद र जनतालाई स्पष्ट जानकारी दिन सरकार जिम्मेवार हुनुपर्ने धारणा राखे ।