काठमाडौं । व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध बैंकिङ कसुरको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ। विशेष सरकारी वकिल कार्यालयले दायर गरेको अभियोगपत्रमा उनीहरूबाट ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो असुलउपर गर्न माग गरिएको छ।
अभियोगपत्रअनुसार प्रतिवादीहरूले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ ले निषेध गरेको कार्य गरेको आरोप छ। यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेका दीपक भट्ट र सुलभ अग्रवाल हाल हिरासतमै छन्। उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी छुट्टै अनुसन्धानसमेत जारी रहेको जनाइएको छ।
अनुसन्धानबाट जगदम्बा स्टिल्स लिमिटेडले उद्योग सञ्चालनका लागि विभिन्न बैंकबाट लिएको चालु पुँजी तथा अल्पकालीन कर्जा उद्योगको प्रयोजनमा प्रयोग नगरी अन्यत्र लगानी गरिएको खुलेको छ। कर्जा रकमको प्रयोगलाई वैधानिक देखाउन ललितपुरको सानेपास्थित जग्गा खरिद गर्ने बहानामा नक्कली बैना कागजात तयार पारिएको अभियोग छ।
सोही कागजातका आधारमा जगदम्बा स्टिल्सको खाताबाट दीपक भट्टको व्यक्तिगत खातामा ४५ करोड रुपैयाँ स्थानान्तरण गरिएको र पछि उक्त रकम भट्टकै स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्सको खातामा सारिएको अनुसन्धानमा उल्लेख छ। त्यसपछि उक्त रकम हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर खरिदमा लगानी गरिएको दाबी गरिएको छ।
अभियोगपत्रमा रकमको वास्तविक प्रयोग लुकाउन अग्रवाल परिवारका विभिन्न सदस्यहरूको बैंक खाता प्रयोग गरी रकम घुमाइएको र अन्ततः पुनः जगदम्बा स्टिल्समै फिर्ता आएको देखाउने प्रयास गरिएको उल्लेख गरिएको छ। यसरी बैंकलाई भ्रममा पार्ने र कर्जा दुरुपयोग लुकाउने कार्य गरिएको अनुसन्धानको निष्कर्ष छ।
सरकारी पक्षले प्रतिवादीहरूसँग ४१ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो असुलउपर गर्नुका साथै सोही बराबरको थप जरिवाना गर्न माग गरेको छ। बैंकिङ कसुर तथा सजाय ऐनअनुसार १० करोडभन्दा बढी र ५० करोड रुपैयाँसम्मको बिगो भएको कसुरमा ६ देखि ८ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ।
मुद्दामा दीपक भट्ट, सुलभ अग्रवाल र शाहिल अग्रवाललाई मुख्य प्रतिवादी तथा शंकरलाल अग्रवाललाई मतियारका रूपमा अभियुक्त बनाइएको छ। कर्जा दुरुपयोगबारे जानकारी हुँदाहुँदै पनि त्यसलाई लुकाउन सहयोग गरेको आरोपमा शंकरलालविरुद्ध तीनदेखि चार वर्षसम्म कैद र आधा जरिवाना माग गरिएको छ।
यस्तै, बैंकिङ कर्जा दुरुपयोगमार्फत अवैध सम्पत्ति आर्जन गरेको आशंकामा दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत पनि थप अनुसन्धान अघि बढाउन माग गरिएको छ। फरार रहेका शाहिल अग्रवाल र शंकरलाल अग्रवाललाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश जारी गर्न समेत अदालतसमक्ष अनुरोध गरिएको छ।