सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

प्रतिनिधिसभा आज बस्दै, विनियोजन विधेयकसहित महत्वपूर्ण प्रस्ताव प्रस्तुत हुने

शुक्रबार, जेष्ठ २९ २०८३

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज शुक्रबार बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनसँग सम्बन्धित उक्त विधेयकमाथि संसद्मा छलफल अघि बढ्नेछ।

त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेश गर्ने कार्यक्रम रहेको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सम्बन्धी दुई महत्वपूर्ण दस्तावेज संसद्मा पेश गर्ने कार्यसूची छ। उहाँले ‘श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१)’ तथा ‘बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ संसद्मा प्रस्तुत गर्नेछन्।

आजको बैठकमा बजेट, सांस्कृतिक सम्पदा संरक्षण तथा श्रम अधिकारसँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा छलफलको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।