काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ईभी (विद्युतीय सवारी) भन्सारमा भएको भनिएको करछली प्रकरणबारे तत्काल छानबिन गर्न सरकारमाथि दबाब दिएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले अर्थमन्त्री स्वयम संलग्न रहेको भन्दै उक्त प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरे । उनले अर्थमन्त्रीले संसदीय समितिमा समेत गलत विवरण दिएको आरोप लगाउँदै तत्काल छानबिन प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
नेता शाहीले गाडी भित्रिनुअघि नै जाँचपास भएको विषय उठाउँदै कर निर्धारण प्रक्रिया पारदर्शी नभएको प्रश्नसमेत गरे । उनले महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको भनाइ उद्धृत गर्दै ईभी गाडीमा क्षमता हेरफेर गरी ठूलो मात्रामा राजस्व छुट दिइएको दाबी गरे ।
उनले गत वर्ष पनि भन्सार छुटसम्बन्धी निर्णयहरूमा अनियमितता भएको भन्दै महालेखाको सुझावअनुसार राजस्व असुली र छानबिन आवश्यक रहेको उल्लेख गरे।