सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

कर चलखेलको आरोप प्रमाणित भए सार्वजनिक जीवन त्याग गर्न तयार छु : अर्थमन्त्री वाग्ले

बिहिबार, जेष्ठ २८ २०८३

काठमाडौँ । बजेटमार्फत करका दर हेरफेर गरेर चलखेल गरिएको भन्दै विपक्षी दलहरूले आरोप लगाइरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले त्यस्ता आरोप प्रमाणसहित पुष्टि गर्न चुनौती दिएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति को बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले कसैलाई अनुचित लाभ पुर्‍याउन वा राज्यको राजस्वमा क्षति हुने गरी कुनै निर्णय गरिएको भए त्यसको ठोस प्रमाण सार्वजनिक गर्न आग्रह गरे ।

समिति सदस्यहरूले करसम्बन्धी निर्णयमा करिब दुई अर्ब रुपैयाँ बराबरको चलखेल भएको आशंका व्यक्त गरेपछि अर्थमन्त्री वाग्लेले आफूमाथि लागेको आरोप पुष्टि भए सार्वजनिक जीवन नै त्याग्न तयार रहेको घोषणा गरे ।

“कर बढ्ने सूचना चुहाएर कसैलाई फाइदा पुर्‍याइएको भन्ने कुरा निराधार हो। यदि राजस्वमा घाटा हुने गरी कसैले हतारहतार सवारीसाधन भित्र्याएको छ भने त्यसका प्रमाण ल्याउनुस्,” उनले भने। “दुई अर्ब होइन, दुई रुपैयाँ बराबरको पनि कुनै बदमासी गरेको प्रमाणित भए म अर्थमन्त्री मात्र होइन, सांसद र सार्वजनिक जीवनसमेत त्याग्न तयार छु।”

उनले आरोपहरू तथ्य र प्रमाणका आधारमा हुनुपर्ने बताउँदै बजेट तथा कर नीतिसम्बन्धी निर्णयहरू आर्थिक सिद्धान्त, प्रगतिशील कर प्रणाली र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर गरिएको दाबी गरे ।

अर्थमन्त्री वाग्लेले सार्वजनिक पदमा रहेका सबै व्यक्तिहरूले समान स्तरको नैतिकता, पारदर्शिता र जवाफदेहिताको मापदण्ड पालना गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

हाल बजेटमा समावेश कर दर परिवर्तन, सवारीसाधन आयात तथा राजस्व व्यवस्थापनका विषयमा सत्ता र प्रतिपक्षबीच आरोप–प्रत्यारोप चलिरहेको छ। यस्तो अवस्थामा अर्थमन्त्रीको चुनौतीले कर नीति र बजेट कार्यान्वयनबारेको बहसलाई थप तीव्र बनाएको छ।