राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन नजिकिएसँगै नेता तथा कार्यकर्ताहरु विभाजित हुन थालेका छन् । सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साह समूहका कार्यकर्ताबीच विभिन्न जिल्लामा हातपातदेखि कुटाकुटसम्मको दृश्य देखिएका छन् ।
यसैबीच बागमती प्रदेशको अधिवेशनमा पनि भाँडभैलो भएको छ । हिजो महामन्त्री कविन्द्र बुर्लाकोटीले उद्घाटन गरेको अधिवेशनमा नयाँ कार्यसमितिको लागि भएको निर्वाचनमा लफडा सिर्जना भएको हो ।
बताइएअनुसार प्रदेश कार्यसमितिको लागि ८९ जना उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका थिए । गएराती १ बजेबाट मतदान पनि सुरु भयो । तर जब केही उम्मेद्वारहरु मतदान गर्न कस्सिए, उनीहरुले मतपत्रमा आफ्नै नाम भेटेनन् । त्यसपछि सिर्जना भएको लफडा अहिले बिना निष्कर्ष टुंगिएको छ ।
स्रोतका अनुसार सभापतिमा अच्युतम लामिछाने र उत्सव अर्याल आकांक्षी थिए । यसअघि पनि प्रदेश सभापति रहेका लामिछाने दोस्रो कार्यकालको लागि दोहोरिन खोजेका हुन्, भने अर्याल यसअघि प्रदेशको प्रवक्ता थिए ।
तर निर्वाचन समितिले लामिछानेलाई जिताउन शंकास्पद भूमिका खेलेको जनाइएपछि अर्याल समूहले मतदान रोकेका हुन् । स्रोत भन्छ, ‘हलमा सबैले अर्याललाई सभापति बनाउनुपर्छ भनेका थिए, तर निर्वाचन समितिले अर्याल समूहका उम्मेद्वारको नाम हटाएर लामिछानेलाई जिताउनेगरी मतपत्र तयार पारेको रहेछ।’
लामिछानेले आफ्नो पक्षमा माहोल बनाउन अर्याललाई ‘बालेनबाट परिचालित’ समेत भनेकाे बताइन्छ। जबकि, अर्याल ०८० सालदेखि पार्टीमा सक्रिय छन् । ‘आफूलाई संस्थापन पक्ष भन्नुहुन्छ, प्रतिस्पर्धीलाई गिराउन भाषणमै बालेनको मान्छे भनिदिनुभयो’, स्रोतले थप्यो ।
लफडा बढ्दै गएपछि दिउँसो केन्द्रीय समितिलाई घटनाबारे जानकारी गराइएको थियाे । अब सचिवालय बैठकले जस्तो सकुर्लर गर्छ, सोही बमोजिम नयाँ कार्यसमिति चयन गरिने बताइएकाे छ ।